गजल
कसै-कसैको त ब्यवहार, देख्दै रिस उठ्छ ;
कसै-कसैको त अनुहार, देख्दै रिस उठ्छ ।
(१)
कुन देवताको लागी भै रहेछ, यो तामझाम;
धर्मको नाममा ब्यापार, देख्दै रिस उठ्छ ।
(२)
शालिनताको भाषण दिएर नथाक्नेहरुको ;
आडम्बरपुर्ण श्रृंगार, देख्दै रिस उठ्छ ।...
(३)
माखो पनि मरेको छैन, जसको प्रयासले ;
सधैको बनावटी हतार, देख्दै रिस उठ्छ।
(४)
लुट्नसम्म लुटेर, आफ्नै देशवासिहरुलाई;
बनेका भवन र कार, देख्दै रिस उठ्छ ।
(५)
नाटकिय ब्यवहार, खल्तिमा छुरा लिनेहरुको;
निर्लज्ज ओठे लोकाचार, देख्दै रिस उठ्छ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
साउन २१ गते, २०७० साल
No comments:
Post a Comment