Pages

Tuesday, September 29, 2015

गजल छिमेकीको अति निकृष्ट अभिमान , नाकाबन्दी ; माछाको दाउमा बकुलाको ध्यान, नाकाबन्दी । (१) कथनी र करनीको हास्यास्पद, दृष्टान्त बन्यो ; तथाकथित ऋषिमनको बिष बमन, नाकाबन्दी । (२) हिजो पनि चिनेकै हो, किन बदलिन्थे रातारात ; बिस्तारबादको अन्यायी अग्रगमन, नाकाबन्दी । (३) बैईमानीलाई चलाखी मान्ने, समाजका उनीहरु; भन्दैछन गरेका छैनौ जानाजान, नाकाबन्दी । (४) सकिदैन आफ्नो बनाउन सर्पलाई, दुध पिलाएर; बन्दै छ देशद्रोहीहरुको पहिचान , नाकाबन्दी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भदौ १३, २०७२ साल

Wednesday, September 23, 2015

गजल ढोका छाडी झ्याँलबाट चिहाउने , कस्ता छिमेकी तिमी ? अरुको सम्पदामा र्‌याल चुहाउने, कस्ता छिमेकी तिमी ? (१) कपडा त कपडा नै हो, कमर बेरे’नि, शिर ढाके’नि ; फोहरीको लगौटीझै गन्हाउने , कस्ता छिमेकी तिमी ? (२) धर्म संस्कृति र छोरी-बेटीको सम्बन्धको’नि कुरा गर्ने; अप्ठ्यारोमा पारी , धाँटी समाउने , कस्ता छिमेकी तिमी ? (३) छिमेकीहरुले बुझेका हुन्छन, आपसी कुरा एक-अर्काका; जाना-जान आफैलाई नंग्याँउने, कस्ता छिमेकी तिमी ? (४) कहिले अंगालोमा बेर्न खोज्ने, आफ्नो स्वार्थ पुरा हुँदा ; अन्यथा ब्वाँसोझै धम्काउने , कस्ता छिमेकी तिमी ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भदौ ७, २०७२ साल

Monday, September 14, 2015

गजल लसुनको भाउमा सुन, बिर्सी दिऊ हजुर ! गुनको बदला बैगुन , बिर्सी दिऊ हजुर ! (१) मात्र सिढी बन्यौ हामी, नेताका लागी; हामीले ख्वाएको नुन, बिर्सी दिउ हजुर ! (२) हरियाली छाउनु पर्छ, आगामी दिनहरुमा। गएको कमजोर मनसुन, बिर्सी दिउ हजुर ! (३) लड्नु त उचित छ , न्याय पाउनुको लागी ; स्वार्थको लागी बग्ने खुन, बिर्सी दिउ हजुर ! (४) लडौ नैतिकताको युद्ध, हामी सबै मिलेर ; हातमै नअटाउने जुन , बिर्सी दिउ हजुर ! रचना: यज्ञ प्रसाद गिरी महालक्षी नगर पालिका-१५ आनन्दबस्ती ललितपुर भदौ २९ गते, २०७२ साल

Saturday, September 5, 2015

गजल एकातिर देवता , पुजा र मन्दिर छ; अर्कोतिर पहिल्यै तोकेको तक्दिर छ । (१) एकातिर आशाबादी सोच र गन्तब्य ; वर्तमान अनकन्टार तारे भिर छ । (२) भनिन्छ बिजय त सत्त्यको नै हुन्छ ; अर्कोतिर भष्ट्राचारीकै ठाडो शिर छ । (३) सैकडौ नेता छन् , गणनामा यो देशमा ; स्थिति भने देशको , सारै गम्भिर छ । (४) भोली पलाउलान , लिलामणी र गोबिन्दहरु; आज अशक्त जोर्नीहरु र, कुहिएको शिर छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भदौ, २१, २०७२ साल