Pages

Thursday, February 26, 2015

गजल बिर्सिएर आफैलाई , जिउनुको के अर्थ छ ; सधै मनको तुवाँलोमा, हुनुको’नि के अर्थ छ । (१) आफ्नै बाटो लाग्नु पर्छ, समयले कोल्टो फेर्दा; बिगतलाई सम्झिएर, रुनुको’नि के अर्थ छ । (२) समयको बहावले, नयाँ बन्छ परिस्थिति; दैवलाई सरापेर , कुर्लनुको के अर्थ छ । (३) कसैलाई ह्रदयको, चाहानाले छुन्न भने ; मुटुलाई चुलेसीमा, रेट्दिनुको के अर्थ छ । (४) ढुग्ङालाई ह्रदयमा , देव सरी पुजा गर्दै ; जिन्दगानी कसैलाइ, अर्पिनुको के अर्थ छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन १४ गते, २०७१ साल

Tuesday, February 24, 2015

गजल दुनियानै पराई छ , बिरानो मन भएपछी; सुखद जिउनु बन्छ , सन्तोषी मन भएपछी। (१) अर्थहिन जिन्दगीका, सारा बिलासका कुरा; ह्रदयमा असन्तुष्टि , सधै दनदन् भएपछी । (२) फरक बुझ्नु जरुरी छ, पैसा र सुख बिचको; सुख शान्ति हराउँछ, लोभ झनझन् बढेपछी । (३) गाँठो फुकाउनै गाह्रो , आफैभित्र जेलिएको ; आफ्नै सोच र कर्म, स्वत: अडचन भएपछी । (४) आत्मसात गर्नु पर्छ ,सुख-दुख जिन्दगीका ; उदाउलान चन्द्र, तारा, स्वच्छ गगन भएपछी। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन १३ गते, २०७१ साल

Friday, February 6, 2015

गजल नेता आफ्नै दुनो सोझ्याउन, ब्यस्त छन्; जसरी बर्षौदेखि , उनिहरु अभ्यस्त छन ; (१) घुमाई-फिराई द्रब्य संकलनकै वरिपरी ; सबै नेता तथा उनका, अधिनस्त छन्। (२) दाँत जस्ता भए पनि, बाहिर देखाउने ; भित्र-भित्रै देश टुक्राउनमै, मस्त छन । (३) रुग्ण हुदै गै रहेछ , देश दिन-प्रतिदिन ; नेताहरु भने क्या ! चुस्त-दुरुस्त छन । (४) देश कंगाल भयो, कंगाल पारिए जनता; भष्ट्रहरुका खजाना, नोटले कुस्त छन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ २३ गते, २०७१ साल
गजल कसैले त झुठा बाचा, नगरे’नि हुने ; झुठो माया लाउन अघि, नसरे’नि हुने । (१) जान्दा-जान्दै ह्रदयका, यावत कुराहरु ; तिखा वाण सोधाईका, नछरे’नि हुने। (२) ह्रदयमा स्वार्थ मात्र, हुने मानिसको; बनावटी कुरा सुन्न, नपरे’नि हुने । (३) निर्दयी यो दैवको’नि, कस्तो न्याय होला ; एउटै मिल्ने साथी थियो, नहरे’नि हुने । (४) धोकामाथी धोका दिने, बानी चिने पछी; आँखा चिम्ली उसकै भर , नपरे’नि हुने । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ २२ गते, २०७१ साल

Wednesday, February 4, 2015

गजल उल्टो-उल्टो काम गर्दै, जमानालाई दोष किन ? कुठाँउमा पाइलो राखी, सिमानालाई दोष किन ? (१) कर्मले नै तोक्ने गर्छ, जित-हार जिन्दगीमा ; हात बाँधी बस्ने गर्छौ , दैवसंग रोष किन ? (२) नदौडेरै जित्छ कस्ले, दौड जिन्दगीको यहाँ ; काम गर्नु भन्दा अघि, राखिदैन होस किन ? (३) कुरा उल्टो, काम उल्टो, उल्टो सोचमात्र देख्छु; राखिएको पाईदैन , सकारात्मक सोच किन ? (४) पवित्रतम् मान्ने गर्थ्यौ, हिजो हाम्रो सामिप्यता, समयले कोल्टो फेर्दा, आज अपशोच किन ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ २२ गते, २०७१ साल

Sunday, February 1, 2015

गजल सुर्य पनि निस्तेज भए,दिन ओरालो लागे पछी; अंग-अंग शिथिल भए, यौवन ओरालो लागेपछी । (१) पश्चाताप भो कसैलाई, चोखो सम्बन्धमा पनि ; गहत- झोलमा बदलिएँ, दिन ओरालो लागेपछी । (२) कर्कश हुदै गएका छन्, मिठा बोलीहरु पनि ; म उपेक्षित हुदै रहें, दिन ओरालो लागेपछी । (३) मुल्य ठुलो हुँदो रै’छ, द्रब्य, शक्ति,जवानीको ; बुझें तर पछारिएँ , दिन ओरालो लागेपछी । (४) नजिक हुन चाहँदैनन्, सुखका साथिभाईहरु ; सबै टाढा-टाढा भए, दिन ओरालो लागेपछी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ १८ गते, २०७१ साल