Tuesday, January 27, 2015
गजल
मुटुबाट मायाको , निशान गएन;
तिम्रो चाहनाको, ठेगान भएन ।
(१)
जसको लागी, धड्की रहन्छ मुटु;
उसकै उपस्थितिको, ज्ञान भएन ।
(२)
बिगतको हिसाब नै के भो र ?
वर्तमानको नै, पहिचान भएन ।
(३)
बित्यो जीवन, उकाली ओरालीमै ;
जीवनपथ् समथर, मैदान भएन ;
(४)
द्रब्य लिप्सामा, डुबेको दुनियामा ;
पवित्रतम प्रेमको, सम्मान भएन ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ १४ गते, २०७१ साल
Thursday, January 22, 2015
गजल
चिउँडो बिनाको बिचित्र, दारी छ नेपालको ;
रिमोट राजनितिको, सिमापारी छ नेपालको।
(१)
माँग नभएर मुल्यहिन , बन्ने गरेंझै बस्तुहरु ;
महग्ङो बेईमानी, सस्तो इमान्दारी छ नेपालको ;
(२)
अनौठो नाटक हुने गरेको छ, सदा सर्वदा;
नेता नै ब्यापारी र भष्ट्राचारी छ नेपालको ।
(३)
लक्ष , योजना, कार्यक्रम र कार्यान्वयन ;
जे जति छ, सबै हावादारी छ नेपालको ।
(४)
यो, उ त्यो जो सुकै देखिए पनि सतहमा ;
शक्तिशाली नाता,कृपा र सारी छ नेपालको ।
(५)
दल,वाद र सिद्धान्त, मात्र नाम हुन पसलका;
टाउके सबैको सधै, अत्याचारी छ नेपालको ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ ८ गते, २०७१ साल
Wednesday, January 21, 2015
गजल
तिंमी बिना कस्तो होला, यो दुनिया मेरो लागी;
च्यातिएको रित्तो झोला, यो दुनिया मेरो लागी ।
(१)
शुन्य-शुन्य वातावरण, शुन्य हुने प्रकृति नै ;
पानीबिना मृत खोला, यो दुनिया मेरो लागी ।
(२)
वियोगले बिक्षिप्त भै, मृत सतीदेबी बोकी,
हिडेजस्तै भयो भोला, यो दुनिया मेरो लागी ।
(३)
जिउनुमा न छ हर्ष, न मरणको त्रास कुनै ,
अर्थहिन भयो चोला, यो दुनिया मेरो लागी ।
(४)
बिरानो भो गाँउ-घर, जिन्दगी नै बिरानो भो;
अन्त्यहिन भयो गोला, यो जिन्दगी मेरोलागी।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ ८ गते, २०७१ साल
गजल
तिमीलाई नेता मान्न, छोडे पनि हुने भयो;
तिम्रो-हाम्रो नाता पनि, तोडे पनि हुने भयो ।
(१)
सहमति जपी हिड्छौ, मार्ग लिन्छौ बिमतिको;
उल्टो कुरा सोच्ने शिर, फोडे पनि हुने भयो ।
(२)
मत संख्या मात्र ठान्यौ , हामीलाई सधैभरी,
नेतागिरी ब्यापारमा , जोडे पनि हुने भयो ।
(३)
सबै कुरा द्रव्यसंग, साट्न थालेपछी अब ;
आदर्शको मुल बाटो, मोडे पनि हुने भयो ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ ६ गते, २०७१ साल
Sunday, January 18, 2015
गजल
मान्छे भई दैवलाई, साथी किन सम्झन्छौ;
आफुलाई अरुभन्दा, माथी किन सम्झन्छौ ।
(१)
लाखौ भक्तहरु सामु, सधै बोल्ने गरेका छौ ;
कुनै खास भक्तलाई, राती किन सम्झन्छौ ।
(२)
कुनै बेला लुकाउथ्यौ, आफ्नो पहिचान त्यही;
कुरै पिच्छै आजभोली, जाती किन सम्झन्छौ ।
(३)
हामीसंग छाट्ने गर्थ्यौ , आदर्शका कुरा सधै ;
लाभ बाड्न भाई,छोरा, नाती किन सम्झन्छौ ।
(४)
हिजोसम्म वर्ग शत्रु , भन्ने गर्थ्यौ तिनैलाई ;
आँखा चिम्ली आजभोली, जाती किन सम्झन्छौ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ ४ गते, २०७१ साल
Subscribe to:
Posts (Atom)