Pages

Thursday, December 25, 2014

गजल अधिकांश नेपालीहरुको, खाना हो मकै ; पशु-पंक्षीहरुको पोषिलो, दाना हो मकै । (१) खाध्य सुरक्षाको लागी, नेपालीहरुको; बलियो आपुर्तिको, सम्भावना हो मकै ; (२) हजुर’मा,हजुर्बाको औषधी , छोराको किताब ; छोरीको गहना र , नानीको नाना हो मकै । (३) मध्यपहाड, बेसी, र तराईका किसानको; सबैको र सधैको प्रिय, चाहना हो मकै । (४) बुझी वर्णशंकर प्रविधीको, महत्व अघी बढे; अन्न उत्पादनको ,दिगो खजाना हो मकै । रचना: यज्ञ प्रसाद गिरी हिमालय होटल, ललितपुर मंसिर २९ गते, २०७१ साल

Sunday, December 21, 2014

गजल ती तिम्रा नजरले, धायल बनायौ ; र मादक बोलीले, कायल बनायौ । (१) नसा- नसामा, यो कस्तो नशा ? नजानिदो पाराले, पागल बनायौ । (२) हास्छ्यौ मुसुक्क, केही’नि न’भाझै; सम्बन्धलाई बन्द, फायल बनायौ । (३) सुनाउ कस्लाई, यि ब्यथा र कथा; खोपेर यो दिल, हरपल बनायौ । (४) अति सुस्त आयौ, अचानक हरायौ ; मेरो मानसिकता, खल्बल बनायौ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस २ गते, २०७१ साल

Saturday, December 20, 2014

गजल सुन्दर तिम्रा नयनहरु, आँसुको तालमा थिए ; सारै हर्षित तिनै आँखा, गएको सालमा थिए । (१) कहाँ चोट पर्‌यो कुन्नि , कुन् कुनामा ह्रदयको; सोध्न पनि सकिएन, के कस्तो हालमा थिए । (२) पोखिएका छछल्केर, बेदनाका कथाहरु ; अधेर्यझै जेलिएका , बाध्यता जालमा थिए । (३) बेदनाका कथाहरु, चक्षुपटमा लेखिएझै ; सारै मलिनझै लाग्ने, अनौठौ तालमा थिए। (४) सामना गर्नु नै पर्ने, जस्तोसुकै परिस्थिति ; किंकर्तब्य बिमुढझै, दोधारे चालमा थिए। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २५ गते, २०७१ साल

Thursday, December 11, 2014

गजल दिन्कादिनै आक्कासिने, बजार भाउ भा'छ ; त्यै भाउको झोल झार्ने, उस्को दाऊ भा'छ । (१) जस-जसलाई पठाईयो, बहुमतले हिजो ; त्यै ब्यक्ति कलै शनि, कैले राहु भा'छ । (२) यो देशमा पद्धतिको, थिति बस्ने कहिले ; यो राष्ट्रको ढुकुटिले, ब्यक्ति साहु भा'छ । (३) जस्ले जे-जे गरे पनि, दण्ड केही छैन; देशलाई अस्थिरता, सारै झ्याउ भा'छ । (४) सिधा-साधा मतदाता, पिडित एकातिर ; कृतध्न र अहंकारी, तिम्रो नाउ भा'छ। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २१ गते, २०७१ साल
गजल लौ भन त ,ब्यापारी हो, सृष्टीको मुल्य के हुन्छ ? हरियाली प्रकृतिमा , बृष्टीको मुल्य के हुन्छ । (१) पृथ्वी एउटै भए पनि , जिवनको बाटो आफ्नै छ ; पृथक जिवन् भोगाईमा , दृष्टीको मुल्य के हुन्छ । (२) कैयौ मान्छे भिखारी छन, अरबपति भए पनि ; सन्तलाई सोध्नु होला, सन्तुष्टीको मुल्य के हुन्छ । (३) जहाँ मन रमेको छ , छेलोखेलो खुसियाली ; मन्मा काली गढेपछी, कृष्टीको मुल्य के हुन्छ । (४) जिन्दगीमा सुखै-सुख, मात्र प्राप्त हुने भए ; यो विशाल धरतिमा, सृष्टीको मुल्य के हुन्छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २२ गते, २०७१ साल

Wednesday, December 10, 2014

गजल हिमाच्छादित, स्निग्ध र, स्वच्छतम् माहौल छ ; लययुक्त, चित्ताकर्षक, समुन्नत भुगोल छ । (१) हेर्दा लाग्ने नशायुक्त, सुन्दरतम् चक्षुहरु ; मायावी र चुम्बकिय, शक्ति अनमोल छ । (२) कान्तिमय मुहार र कटी लचकदार छ; मदिराको नशाभित्र, सुगन्धको घोल छ । (३) चम्किला मोतीझै लाग्ने,मुस्काउँदा दन्तावली; मधुयुक्त मिठासले , भरिपु्र्ण बोल छ । (४) जहाँ-जहाँ कदम तिम्रा, फुलजस्तै बढेका छन्; त्यहाँ-त्यहाँ चाहनेको भीड, गन्जागोल छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २१ गते, २०७१ साल
गजल त्यै नजरले कुनै बेला, गर्‌यो स्वागत मलाई; कुनै बेला सडकछाप, ठान्यो फगत मलाई । (१) नाता ह्रदयको भए , हाल यस्तो किन हुन्थ्यो ; ननिल्नु र ओकल्नु भो, तिम्रो चाहत मलाई । (२) साख्खिएर कुनै बेला, मिठा, चिप्ला कुरा गर्‌यौ ; मौका छोपी जानी-जानी, गर्‌यौ आहत मलाई । (३) चोटै-चोट सहेको छु, तिम्रो सहयात्री बनी ; यो निहुँ वा त्यो निहुँमा, छैन राहत मलाई । (४) भेटिएन दयावान , दैव कुनै देवस्थलमा ; शुन्य, खल्लो लाग्ने गर्छ, तिम्रो जगत मलाई । (५) चन्द्र एउटै, सुर्य एउटै, प्रकृतिको रित एउटै । किन देख्छु दुनियाको, उल्टो नियत मलाई । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २४ गते, २०७१ साल

Tuesday, December 9, 2014

गजल देखेर मुटु धडकियो, था'छैन अनि के भयो ? माया बनेर गाडियौ , था'छैन अनि के भयो ? (१) सपना तथा बिपनामा, तनमनमा र सोचाईमा ; मादक महक भै फैलियौ , था'छैन अनि के भयो ? (२) हरेक क्षण तिमी मात्रै , छायी रह्यौ मसतिष्कमा; एक छत्र शासन गर्‌यौ, था'छैन अनि के भयो ? (३) हर तवरले म त तिम्रो, आफ्नै बनी सक्या'रैछु ; तिमी रहस्य नै रह्यौ , था'छैन अनि के भयो ? (४) पराजितभै तिम्रो पछी, म लागें मन्त्रमुग्ध भै ; बजूद मेरो बिलिन भो, था'छैन अनि के भयो ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २२ गते, २०७१ साल

Monday, December 8, 2014

गजल दोबाटोमा ल्यायी छोड्यौ, बुख्याँचाझै बनाएर; तिमी हिड्यौ कुबाटोमा, समाजमा गन्हाएर । (१) कहाँ उस्को त्रुटी भयो, तिम्रो चित्त दुख्यो किन ? भन्न पनि सकिन्छ नि, सिधै औला ठड्याएर । (२) सबै कुरा सुल्टिने छन, आपसमा कुरा गर्दा ; कतै पनि पुगिदैन , द्वेष - राग बढाएर । (३) जुटी काम गर्नु पर्छ, देश अघि बढाउन ; केही हुने वाला छैन, मात्र नारा लगाएर । (४) धेरै दल बनाउँदा , बर्ग धेरै बनेका छन ; कुकर्म नगर नेता , सिग्ङो देश फुटाएर । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २० गते, २०७१ साल
गजल तिमी छौ म छु र यो घरबार छ ; दुनियाको त आफ्नै रफ्तार छ । (१) टिप्दै जाउ यात्रामा स-साना खुसी; जिवन कहिले जित, कहिले हार छ । (२) छैन खुसी, पैसा ,गहना र पोशाकमा; सुखको मुहान त आपसी प्यार छ । (३) जित्नु छैन कसैलाई, न हार्नु कसैसित ; किन दुनियामा, ब्यर्थ मारामार छ । (४) जबदेखि समाजमा, बैभवको छुरी चल्यो ; मानवता बिक्षिप्त, आहत र लाचार छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २२ गते, २०७१ साल
गजल जे'नि हुन्छ अपराधी, निडर भएपछी ; मानिएका गुण्डाहरु , लिडर भएपछी । (१) गुणस्तर कस्तो होला, पढाईको हजुर ! प्रमाण पत्र चोरी गर्ने, टिचर भएपछी । (२) नक्कली छन नागरिकता, राहदानी पनि ; राष्ट्रद्रोह सुस्त-सुस्त, गम्भिर भएपछी । (३) अराजकता सबैतिर, डढेलोझै भा'छ ; शासकहरु बेथितिका, शिर भएपछी । (४) मेल-जोल समझदारी, के खाएर हुन्थ्यो ; एउटा शेर अर्को , सवाशेर भएपछी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २२ गते, २०७१ साल
गजल ब्युझाउँन तिमीलाई, शंख-घण्ट बजाउँदै छु ; धुप-दीप नैबैध्य र, दुध-धारा गराउँदै छु । (१) मन्दिरमा बस्न पुग्यौ, रुष्ट हुदै हामीसंग ; तिम्रो मन दुखाउदैनौ, बिन्ति पनि चढाउदै छु । (२) भुल चुक भयो होला, दैव क्षमा गरी दिनु ; तिमीलाई बस्न मिल्ने , मन्मा ठाँउ बनाउँदै छु । (३) पाप कर्म हुन थाले, तिम्रै आँखा सामुन्नेमा ; भजनरुपी गजल यो, तिम्रो सामु गाँउदै छु । (४) बिष्णु, काली, गणपति, पशुपति जे भने'नि ; नेपालीको बुद्धी फिरोस, बारम्बार सुनाउदैछु । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २० गते, २०७१ साल
गजल गर्न अझै बाँकी रह्यो, युद्ध आफैसित ; नबुझेरै बन्दै हिड्छौं क्रुध्द, आफैसित । (१) सबैतिर अशान्ति छ, शान्ति कतै छैन ; हुँदा-हुँदै बिर्सि दियौ , बुद्ध आफैसित । (२) किन बित्था अरुलाई, औला ठड्याउँने , जाँचौ मन छ कि छैन, शुद्ध आफैसित । (३) बेकार छ दुनियाको, दोष खोजी हिड्नु ; लुकाएर वासनाको , गिद्ध आफैसित । (४) अभिलाषा जिवनको, धन्य पार्ने भए; हुर्काउन सक्नु पर्छ , सिद्ध आफै सित । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर १८ गते, २०७१ साल
गजल लुटी आफ्नै सम्पन्नता, कंगाल तुल्याउँछौ ; जिन्दगीभर भर्मै-भ्रमको, पर्खाल ठड्याउँछौ । (१) समाजलाई चिरा पार्दै, पार्छौ टुक्का-टुक्रा; स्वार्थयुक्त राजनितिको, सञ्जाल फैलाउँछौ। (२) धनि-गरीब, ठुलो-सानो, जाती धर्म भन्दै ; समाजलाई फुटाएर , बबाल मचाउँछौ । (३) विकाशको मन्त्र जप्दै, विनाशतिर लाग्यौ; आफैलाई जाक्न आफै , खाडल बनाउँछौ । (४) मनभित्र द्रब्य लिप्सा , वासनाको भारी; अरु सामु अध्यात्मको बिगुल बजाउँछौ । (५) यो पाराले कहाँ हुन्छ ,उत्थान समाजको ? आउने पिढिलाई पनि, चण्डाल बनाउँछौ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर १८ गते, २०७१ साल
गजल खन्दै छु बारी , तरकारी फलाउँनु छ ; गर्दै छु मेहनत , गरिबी भगाउँनु छ । (१) गर्दै एकिकृत राष्ट्रियता र वैभवलाई ; हरेक युवामा, स्वाभिमान जगाउँनु छ । (२) चिनौ देशको माटो र, हावा पानीलाई ; यही माटोमा , सुनै-सुन फलाउनु छ । (३) युरो,डलर , रुपियाँ, फल्छन् यै माटोमा; लुकेको सम्पदाको उपयोग बुझाउँनु छ । (४) निर्लज्ज अगुवाहरु, भष्ट्राचारमा लिप्त छन्; यिन्लाई कुकर्मको, सजाय सुनाउँनु छ । (५) लाजै नमानी भाषण गर्छन् , भतुवाहरु ; मञ्चमै चढी जुत्ताको, माला लगाउनु छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर १८ गते, २०७१ साल
गजल हेर्नु पर्दा टोपी खस्ने , महल बनाएछौ ; स्वेच्छाले कैदी बन्न, पर्खाल ठड्याएछौ । (१) जवानीमै कान तिम्रा, बाक्लिए कि कसो ? पर्खालमै कर्कस यन्त्र , खल्बल लगाएछौ । (२) कुकुरदेखि सावधान ! लेख्या पनि रै'छौ ; सत्य बोल्न आफैलाई , सबल बनाएछौ । (३) गुड्ने बाकस राख्या रै'छौ, बोल्ने डब्बा पनि; रातो-रात छिमेकमा, हलचल मच्चाएछौ । (४) सुन्छु आवत्-जावत् हुन्छ, अप्सराको पनि ; घर हैन अत्याकर्षक, पसल सजाएछौ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर १८ गते, २०७१ साल

Friday, November 28, 2014

गजल तिमीलाई दाँज्थें म त , आकाशको जुनसंग ; तिमी भने साटिएछौ, केही किलो सुनसंग । (१) भन्नलाई मात्र रै’छन, आदर्शका कुराहरु ; जाँचिदो रहेछ मान्छे उस्मा भा’को गुनसंग । (२) रुप यौवन क्षणिक छ , झरी जाने फूलसरी; अस्तित्वको लडाई छ , हुरी र मन्सुनसंग । (३) भोगाईले सिकायो कि ,जिउनुको यथार्तता; मिथ्यामान अझै छ कि, घरानियाँ खुनसंग । (४) सोची सम्झी बढाउनु, कर्तब्यका कदमहरु ; न्याय गर्न जान्नु पर्छ, स्वदेशको नुनसंग । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १८, २०७० साल

Monday, November 24, 2014

गजल उर्वरक र सुन जस्तो बाला झुल्ने खेत ; खाद्धान्नको भकारी नै बन्ने, सुरखेत । (१) रानिमत्ता, सिध्दापाईला, लादे, गोठीकाँडा ; बिहानमा झलमल्लै बल्ने , सुरखेत । (२) देउतीबज्यै, काक्रेबिहार, मठ-मन्दिरहरु ; आध्यात्मको बाटो लियी चल्ने सुरखेत । (३) उत्तरगंगा ,मुलपानी, झुप्रा, चिंगाड्, भेरी ; सञ्चार गर्दै अमृतको , बग्ने सुरखेत । (४) जन्मिएर हुर्किएको, स्वर्गतुल्य ठाँऊ ; समष्टीमा सारै प्यारो , लाग्ने सुरखेत । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, मँसिर ८ गते

Sunday, November 16, 2014

गजल सपना सजाउछु छरिन्छन, म के गरुँ ; छलीहरु सदर दरिन्छन , म के गरुँ । (१) राम्रो हुदैन रे, मर्दको आँखामा आँसु ; गह आँसुले भरिन्छन , म के गरुँ ; (२) के गर्नु मानवता र अस्मिताका कुरा ; काम बिपरितनै गरिन्छन, म के गरुँ । (३) उपदेश दिएर घात गरेका छन, सबैले ; तिनै नजिक ठहरिन्छन, म के गरुँ । (४) अनौठो चलेको छ, दुनियामा चलन; सोझैलाई आँखा तरिन्छन, म के गरुँ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, मँसिर १ गते
गजल हिजै मुटु, साटेर गयौ ; आज बाटो, काटेर गयौ। (१) कैफियत के परेछ, कुन्नी ; दुधझै पलमै, फाटेर गयौ । (२) झुठा-मिठा, बाचा'नि गर्यौ ; मलाई आखिर, ढाटेर गयौ । (३) तर्क,बितर्क र कुतर्क गर्यौ; दिमाग मेरो, चाटेर गयौ। (४) कति नै फलेको थिए र म ; तैपनि सक्दो झाँटेर गयौ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, मँसिर १ गते
गजल खुर्की नसक्नु छ, माया ; बिर्सी नसक्नु छ, माया । (१) गहिरो, सारै छ, गहिरो ; पसी नसक्नु छ, माया । (२) घाउ त्यही, मल्हम'नि त्यही ; बुझी नसक्नु छ, माया । (३) घात सहेर'नि, उस्कै पुजा; पुजी नसक्नु छ , माया। (४) बिर्सु भन्दा झनझन् ताजा ; सम्झी नसक्नु छ, माया । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, मँसिर १ गते
गजल काममा जानु छ हजुर! हतारमा छु ; म मेरो देशमा हैन, म कतारमा छु । (१) मनमा लागेथ्यो, बिमान चढेकै क्षण; हिड्न विवश म, खुकुरिको धारमा छु। (२) म सुन्दर पहाडमा खेली हुर्केको मान्छे; रेगिस्तानी गर्मीको, हाहाकारमा छु । (३) मन थिएन, आफ्नो गाँऊ छोडी हिड्ने; बेरोजगारी र गरिबीको मारमा छु । (४) छटपटाउछु सधै, गाँउ-घर सम्झेर; सधै अधैर्य छु , सधै दोधारमा छु । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, मँसिर १ गते
गजल असल भनिनेको, मन कालो छ; पाईला-पाईलामा, भ्रमको जालो छ । (१) यो जिन्दगी, बुझी नसक्नु रै'छ हजुर; नरम मखमलमा, भाग्रोको टालो छ . (२) कसले बुझ्न सक्यो र ? समयको खेल : हिजो थियो उसको, आज तिम्रो पालो छ ।. (३) सुखको दौडमा सबै, तर सुखी तिनै छन्; ज- जसको ह्रदयमा सधैं उज्यालो छ । (४) कहानी उस्तै हुन्छ,, सबैको जिवनको ; आशा-निराशा, बेदनाको संगालो छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, मँसिर १ गते
गजल मनभित्र बिझें भने, आँखाबाट झारी दिनु ; मेरो माया बोझ बनें, मेरो माया मारि दिनु। (१) टेका दिनु पर्ने भए, नाता हाम्रो टिकाउन; दया तिम्रो चाहिदैन, बहानाले टारी दिनु। (२) ईशलाई भन्ने गर्छु , तिमीलाई गुमाएर ; चाहिदैन जित बरु सबै युध्द हारी दिनु । (३) जेगर्न'नि तयार छु, सुखी तिमी हुने भए ; आफुलाई जोगाएर , मलाई पारी तारी दिनु। (४) तिम्रो सबै पिडाहरु, यदि साट्न मिल्ने भए; मेरो खुसी तिमीलाई मलाई तिम्रो भारी दिनु। (५) सधर्षमा बितेको छ , सम्पुर्ण यो जिन्दगानी ; समस्याका सबै कुरा, मेरो तर्फ सारी दिनु । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १८ गते

Monday, November 3, 2014

गजल म लठ्ठीए, जब मादक बन्यौ तिमी ; र लुटिए, जब घातक बन्यौ तिमी । (१) नसा-नसामा नशा बनी तिमी पस्यौ; र स्वतन्त्रताको बाधक बन्यौ तिमी । (२) तिमी बिना म, मुल्यहिन बनी सकें ; मेरो जिन्दगीको, बाहक बन्यौ तिमी । (३) सुम्पी सकें मेरो जित र हार तिमीलाई ; गतिहिन बने म, चालक बन्यौ तिमी । (४) चाहना, उपासना, पुजा र प्राप्तीपछी ; म जस्तै मायाको साधक बन्यौ तिमी । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १८ गते
गजल एउटा मन, तिम्रो पनि छ मेरो पनि ; नव-यौवन , तिम्रो पनि छ मेरो पनि ; (१) बढ्दै गयो, जब हामीबिच आकर्षण ; भयो कम्पन तिमीमा र ममा पनि । (२) साथी चाहिन्छ, यात्रा लामो छ भने ; जिन्दगीमा , तिम्रो पनि मेरो पनि । (३) चाहना हरेकको, हुने गर्छ, आ- आफ्नै ; र त गन्थन , तिम्रो पनि मेरो पनि । (४) एकाकार शरिरले र सोचले बनेपछी ; भो मिलन तिम्रो पनि र मेरो पनि । (५) सामिप्यले,खुसीको बहार ल्याई दिएपछी; निलम्बन भो पिडा तिम्रो र मेरो पनि। (६) संगै मर्ने, संगै बाँच्ने, चाहना जागेपछी ; एउटै छ स्पन्दन, तिम्रो पनि मेरो पनि । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १८ गते
गजल थाहा छैन, साथी को बन्छ, जिन्दगीमा; कहिले कस्ले, मन छुन्छ ,जिन्दगीमा । (१) चाहेझै सुखद कहाँ हुन्छ र ? सफर ; निमेषमै बन्छ, बिग्रन्छ , जिन्दगीमा । (२) हिसाब-किताब, मायामा'नि लागु भए; घाटै-घाटाको बज्र, बज्रन्छ जिन्दगीमा । (३) नेताको नाराको, पारामा लाग्यौ भने ; थाहा छैन के-कस्तो, हुन्छ जिन्दगीमा । (४) त्रसित हुनु किन , भविष्यको त्रासले सधै ; चाल्दै जाऊ कदम, स्वच्छन्द जिन्दगीमा । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १८ गते
< गजल दोष कस्को ? समयको, वा शहरको थियो; सामिप्य तिम्रो, वा आफ्नै नजरको थियो। (१) कडा थियो छाती, तथापि कम्पन छुट्यो ; असर तिम्रो नजरभित्रको, जहरको थियो । (२) बेकाबु आफैमा छु , तर काबुमा तिम्रो भएँ ; दोष तिम्रो, अरुको वा मेरै रहरको थियो। (३) पानी-पानीझै तरल, र हावाझै फिरग्ङी बनें; खोट दुनियाको, वा आफ्नै ठहरको थियो। (४) सारै नजिक रहेर पनि, प्यासी रह्यौ ; नाता नदी तथा, सुख्खा बगरको थियो । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १८ गते

Saturday, November 1, 2014

गजल काम केही हुन्त्यो होला,त्यो गिदीमा केही भए ; सरकारको लेनदेन , झोपडीमा केही भए । (१) केका लागी पठाएको, केको लागी तिमी गयौ, एकपटक सम्झि दिनु, खोपडीमा केही भए । (२) केको भुत्रो राजनिति? म त भन्छु फटाही हो ; हेरौ तिम्रो काम राम्रो, जिन्दगीमा केही भए । (३) दलको बल लगाएर , अत्याचार गरेका छौ ; देखिने छ देखाउनु , डकैतीमा केही भए । (४) तिमी जस्ता लुटेरा त, कति आए कति गए; देखाउनु लुट बाहेक , ढुकुटीमा केही भए । (५) तिम्रो अन्त्य छिटै हुन्छ, अपराधी गनिने छौ ; हामी सब्लाई देखाउनु , सफाईमा केही भए । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १३ गते
गजल बाहिरी छन जिउनुका, बेग्लै कित्ताहरु ; तर भित्र जिन्दगीका वास्तविकताहरु; (१) हुने गर्छन साहसीको, छातीभित्र पनि ; बेदना र भावनाका, बिविधताहरु । (२) बाँच्नु पनि किन-किन, अन्योलझै भा'छ; पढ्दा पनि जति सुकै, बेद -गिताहरु। (३) यो राष्ट्रको भविश्य भो, किन अलपत्र ; जस्कालागी जलाईयो, कैयन चिताहरु । (४) रावणहरु बनाईए, सधै हर्ता-कर्ता ; सडकतिर मिल्केकाछन राम सिताहरु । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १६ गते

Saturday, October 25, 2014

गजल देशमा भिषण पहिरो र भेल छ अचेल; भष्ट्रहरुको शासन र चलखेल छ अचेल । (१) कस्लाई वास्ता छ ? राष्ट्र र राष्टि्यताको ; भागबण्डामा दलहरुको मेल छ अचेल । (२) झण्डावाल गाडीमा ,हिड्ने गर्छन भष्ट्हरु; निर्धा र निर्दोषलाई मात्र, जेल छ अचेल । (३) स्वदेशी उत्पादनहरु, ओरालो लागेका छन; आयातित बस्तुहरुकै, ठेलम्ठेल छ अचेल । (४) दलाल र धुर्तहरुनै अगाडी छन, यो देशमा ; ईमान्दार र परिश्रमी सधै , फेल छ अचेल । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक ९ गते

Friday, September 26, 2014

गजल छिनमै बदलिने दुनियाको, रित छ आलभोली ; यात्रा जारी, यात्रु भने , थकित छ आलभोली । (१) दुई नम्मरीकै जग्जगी छ , शहर र बस्तीहरुमा ; एक नम्मरको सेरोफेरोनै, बर्जित छ आजभोली । (२) पाखा पारिएका छन, सोझो काम गर्नेहरु बिचरा ! सत्यमाथी असत्यको सधै , जित छ आजभोली । (३) कर्णप्रिय स्वर लहरीहरु, हराउन थालेका छन ; बम जस्तो समकालिन, संगीत छ आलभोली । (४) यहाँसम्मस पुग्नु पर्‌यो, नियतिले जिन्दगीमा । लिलाममा राखिएको , मेरो प्रित छ आजभोली । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, आश्विन १० गते
गजल तिमीलाई सम्झी आँसु, खसाल्या'छू मैले ; ससम्मान ह्रदयमा , बसाल्याँ'छु मैले । (१) जैले पनि जहाँ पनि, तिम्रै नाम जप्छु; पुजा गर्ने यस्तै जुक्ति, निकाल्याँ'छु मैले। (२) बाधाहरु हजार छन्, हाम्रो बाटो छेक्ने ; बिद्रोहको रातो झण्डा, उचाल्याँ'छु मैले। (३) जे'नि गर्छु, परे मर्छु, तिम्रोलागी म त ; माया गर्ने यस्तै रित, बसाल्याँ'छु मैले । (४) पवित्रता कायम राखी, प्रेम-पुजा गर्छु ; मनका राग-द्वेषहरु, पखाल्याँ'छु मैले । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, भाद्र २३ गते

Thursday, September 25, 2014

गजल देखिएको माया भन्दा, पाएकोनै राम्रो ; लेखिएको गीत भन्दा, गाएकोनै राम्रो । (१) तिमी बिना जिन्दगानी, छाईएकै छैन; कति भिज्नु अब छानो, छाएकोनै राम्रो । (२) लक्षहिन बिना ठहर , भौतारिनु भन्दा ; खुला भन्दा मन्को बहर , दाएकोनै राम्रो। (३) लेखा-जोखा सम्बन्धमा, पनि हुने गर्छ ; ह्रदयले जिती माया , लाएकोनै राम्रो । (४) टप्प टिपी शिखरमा, राखी माग्नु भन्दा ; मेहनतले शिखर् चुम्न, पाएकोनै राम्रो । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, भाद्र २२ गते
गजल छुट्टिएर तिमीसंग, बाँच्नै गाह्रो भा'छ ; सुस्त-सुस्त दुखाईको, मात प्यारो भा'छ ; (१) भनुँ भने के भनुँ खै, भन्न चाँहदैन ; आज तिम्रो उपेक्षाले, मन अध्याँरो भा'छ । (२) फूल जस्तो रुप थियो, नौनी जस्तो मन ; ढुग्ङा जस्तो किन होला, सारै साह्रो भा'छ । (३) हराएछु जिन्दगीको , सुनामीमा परी; हिजो भन्दा आज खुसी, झन उधारो भा'छ । (४) कहाँ लगी घोप्ट्याउनु, ब्यथित मन मेरो ; गजल मेरो पीर पोख्ने, ढुग्ङे धारो भा'छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल श्रावण, २७ गते
गजल चिनिएको जोकोही'नि, मेरो साहु भएको छ ; शधै भरी आकाशिने बजार भाऊँ, भएको छ । (१) पिडा हाम्रो बुझ्ला भनी, जस्लाई छानी पठाए'नि; कोही शनी, कोही केतु, कोही राहु भएको छ । (२) जे-जे भनुन जे-जे बनुन, सबै बनावटी कुरा ; के गरेर धनी बन्ने , भित्री दाऊँ भएको छ । (३) स्वास्थय, शिक्षा, सेवाक्षेत्र अनि राजनितिभित्र; भष्ट्राचार ब्यविचार , सबै ठाँउ भएको छ । (४) जता हेर्‌यो बेथिति छ , अन्याय छ चारैतिर ; बिटुलियो समाज यो, कता जाऊँ भएको छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, भाद्र २६ गते
गजल आज किन सस्तो भयो, तिम्रो मन पर्‌या मान्छे; मुल्यहिन बनाईयो, तिम्ले माया गर्‌या मान्छे । (१) बिरक्त छ, दिशाहिन, बेनामी छ , भिडभित्र ; पहिचान जोगाउन, सदै अघि सर्‌या मान्छे। (२) सधै साथ दिन्छु भन्थ्यौ, जिन्दगीको यात्रा भरी; किन आज भागी हिड्यौ,उहिले बाचा गर्‌या मान्छे। (३) वास्तविकता छुरी बनी, ह्रदयमा गढी दिन्छ ; भन्छन फर्कि आउदैन, दुनियामा मर्‌या मान्छे। (४) सबै चिज बिलाउँछन, समयको बहावमा ; तर बाँची राख्ने रै'छ मनभित्र गड्या मान्छे । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, भाद्र २४ गते
गजल हिजो-आज सम्झी बस्नु, मेरो बानी भएको छ ; तिम्रो याद माछालाई , अमृत्पानी भएको छ । (१) जिन्दगी यो लक्ष बिना, यात्रा गरे सरी भयो ; तिम्रो माया यी आखाँका, दुई नानी भएको छ । (२) हुरी जस्तै बनी पस्यौ, जिन्दगीमा तिमी मेरो ; निस्किएर फुत्त भाग्नु, बेईमानी भएको छ ; (३) गर्व गर्दै हिड्ने गर्थैं , तिम्रो साथ पाए भन्दै ; तर आज स्वाभिमान , पानी-पानी भएको छ । (४) बहाना त धेरै होलान , आफ्नो गल्ति लुकाउने; जे-जे यहाँ भएको छ, जानी-जानी भएको छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, भाद्र १८ गते
गजल तिम्रो याद सुसाएको, चैते हुरी सरी भयो; तिम्रो माया आँखाबाट,आँसु बनी झरी रह्यो । (१) हिड्दा-हिड्दै बाटोबाटै, तिम्लाई गुमाएको दिन; भुस्को आगो बले सरी, भित्र-भित्रै बलि रह्यो। (२) भाग्य पनि किन यस्तो भा'को होला मेरो मात्र; मिलनको सम्भावना, सधै-सधै टरि रह्यो । (३) मलिन बनी बिदाईको , तिम्ले हाल हल्लाउँदा ; मुटु घोच्यो चस्स-चस्स मनमा गाँठो परि रह्यो । (४) कुन्नि कता तिमी गयौ मलाई छोडी टाढा-टाढा; तिम्रो याद किलो बनी, ह्रदयमा गढी रह्यो। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, आश्विन १० गते
< गजल अझै'नि उसकै ढलि-मली छ ; उस्कैपछी भजन-मण्डली छ । (१) जसकातस उस्का जरा छन; पहिलेझै यहाँ खलबली छ । (२) कुरा जे समानताका गरौ; आज'नि उ महाबली छ । (३) बिर्सनै कहाँ सकेको छु र ? हिजोकै दृश्य झल्झली छ। (४) खासमा जिर्ण हुदै छ देश ; नारामा मात्र मखमली छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, आश्विन १० गते

Monday, September 15, 2014

गजल मिठा त लाग्छन शाहजहाँ र मुमताजका कुरा ; जिवन खोज्छ तर श्रम र कामकाजका कुरा । (१) कसैगरे'नि चित्त बुझाउन, नसक्ने भएको छु ; कसरि अपनाउनु र खै ति रिति-रिवाजका कुरा । (२) नेताको भाषण पछी सोच्न बाध्य भएको छु ; उही चलन-चल्तिका शिकार र वाजका कुरा । (३) घात-प्रतिघातको खडेरीले सुकि सकेको छ मुटु; बेअर्थ बाहिरी शारिरिक सज्जा र साजका कुरा । (४) कोहि बचेको छैन प्रेमको रोगको प्रकोपबाट ; सबैलाई उस्तै के डाक्टर के कविराजका कुरा । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, २६ गते

Monday, August 25, 2014

गजल बिलाशी भै बाँचुँ भन्ने, मनमा रहर जाग्यो कि त ? बजारमा भाऊ मेरो , घट्दै गा'को लाग्यो कि त ? (१) किन होला आजभोलि, उनको चासो देखिदैन ; पराईले मैले जस्तै, उनको साथ माग्यो कित ? (२) भन्न के नै सकिन्छ र, मनै न हो मानिसको; दोबाटोमा मोडिएर , अर्कै दिशा लाग्यो कि त ? (३) बाचा गर्दै सधै कसम, खाने मेरो मायालुले; एकाएक सबै बिर्सि, सबै सिमा नाघ्यो कित ? (४) धेरै चोट धेरै पिडा, सहेको छु जिन्दगीमा ; नसोचेको ह्रदयमा, अर्को चोट लाग्यो कि त ? यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल साउन २७ गते

Saturday, August 23, 2014

गजल उन्लाई भेटेको दिन महान हुन्थ्यो ; रातभर सपना देखेर , बिहान हुन्थ्यो । (१) आतुर हुने मन, मिलनको पर्खाईमा ; घडीको सुईनै, अडेको भान हुन्थ्यो । (२) हेर्दैमा बेलगाम , धड्किन्थो यो दिल ; दैलोमा स्वस्तिकको, निशान हुन्थ्यो । (३) मन कतै, किताब आँखा अगाडी हुने; ह्रदयमा मात्र तिम्रो, बखान हुन्थ्यो । (४) गल्ति गरेझैं लाग्थ्यो, मनमा कहिले ; गल्ति फेरी-फेरी र जानाजान हुन्थ्यो । (५) भोगेको छु एक टुक्रा स्वर्ग मैले पनि ; अन्यथा यो जिन्दगी चिहान हुन्थ्यो । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल श्रावण, २८ गते

Tuesday, August 19, 2014

गजल बिगतको जिन्दगी , क्या कमाल हुन्थ्यो ; कुरकुरे थियो बैस , क्या बबाल हुन्थ्यो । (१) उन्को खोजीमा , हरदम तल्लिन यी नजर ; उनी हुन्थिन् , उन्को घरको झ्याल हुन्थ्यो। (२) चलन थिएन, बहुमुल्य उपहार साट्ने ; खल्तिमा उनैले दे'को, रुमाल हुन्थ्यो। (३) सुर्योदयसंगै जन्मन्थे, कैयन सपनाहरु ; जिन्दगीको त्यो नै स्वर्णिम काल हुन्थ्यो । (४) विकार थिएन, जिन्दगीको कुनै पाटोमा ; मन् तराई र सोच सेतो हिमाल हुन्थ्यो । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, ४ गते
<गजल धेरै थरीका मानिससंग, ब्यवहार हुन्छ ; जिन्दगीमा कहिले जीत, कहिले हार हुन्छ । (१) संधर्षको दौरानमा , भेटिएकी थियौ तिमी ; अब त तिम्रो सामिप्यमा, मेरो संसार हुन्छ। (२) जिउनुको दिशा अब, स्वतन्त्र रहेन मेरो ; जता बहाव तिम्रो, मेरो मुलधार हुन्छ । (३) अच्चम लाग्दो छ , ईश्वरको यो सृष्टी पनि ; जे म सोच्दछु त्यस्तै, तिम्रो बिचार हुन्छ । (४) तिम्रै साथले , यो गिन्दगी सहज भएको छ ; तिमी बिनाको गिन्दगी, अनकन्टार हुन्छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, ३ गते
गजल समयको चक्र न हो , सब् कुरा बदलिदो रै'छ ; माया पनि पुरानो भै, बिस्तारै खुईलिदो रै'छ। (१) जाँची हेर्दा एउटै कुरा, फरक- फरक स्थितिमा ; हिजो सही भा'को पनि, गल्तिझै माँनिदो रै'छ । (२) मुटु आफ्नै आँखा चिम्ली, कसैलाई सुम्पी दिदा ; पटक-पटक सानो-सानो, उपेक्षाले छुँदो रै'छ । (३) हिजोसम्म मुल्यवान, ठानिएका बस्तु पनि ; मुल्यहिन बनाईदा , ढुग्ङाझै मिल्किदो रै'छ । (४) समयको बेगलाई , कस्ले छेक्न सक्या छ र ? हुने त हुने नै भैगो, नहुने'नि हुँदो रै'छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, २ गते
गजल था'छैन उसले मलाई वा आफैलाई मुर्ख बनायो ; भुमिका बाँध्दै कसैले मेरो गजल मैलाई सुनायो। (१) गजलकारले गजलमा पोखेको, भावको हवाला दिदै; मेरो भावनाको कागजमा निर्धक्क सलाई सल्कायो । (२) उ बिक्षिप्त प्रेमी हुनु पर्छ, यो लेखाईको आधारमा ; भन्दै मेरो खिल्ली सेरहरु दोहर्याउदै पढ्दै उडायो । (३) भन्यो बेदनाको निरर्थक थुप्रो, मात्र हो यो गजल ; नकारात्मकताको कलंक पक्ति-पक्तिमा लगाई देखायो। (४) तिमी थियो मेरो गजलमा, स्वाभाविक थियो मन दुख्नु; धोबी धुलाई दिदै , शब्दहरु फर'काई-फर'काई ठटायो । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, २ गते

Monday, August 18, 2014

गजल हरेक स्थितिमा मैले, हाम्रो प्रेमलाई अब्बल पाएको छु ; तिमीसंग नजिकिदा मैले, आफुलाई सबल बनाएको छु । (१) खेर फालेको छैन, तिमीसंग बितेका कुनै पलहरुलाई ; उपेक्षालाई पनि पालिश लगाएर, गजल बनाएको छु । (२) हाम्रो उन्मुक्त हाँसोहरुमा, सुन्दर फूलहरु फुल्ने गर्थै ; आँसुहरु पनि संगाली, जिवनोपयोगी जल बनाएको छु । (३) भविष्यको संभावित क्रमभंगलाई बिचार गरी सचेत हुदै ; अटुट नाता कायम राख्न, सम्झना अविरल बनाएको छु । (४) खोल्नु होला म मरेपछी, यो कागजको बन्दी खाम मोटो; अमर प्रेमको निशानी, ताजमहलको प्रोपोजल बनाएको छु । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, २ गते
गजल उ पोहर पनि आएको थियो, अहिले पनि आउने छ ; कुन महिना,कुन गते र बार गनि-गनि आउने छ .। (१) तिमीमा शोषण योग्य के छ, राम्रोसंग बुझेको छ उस्ले; कहिले दाई ,भाई, बहिनी र प्रेयसी, भनि-भनि आउने छ । (२) तिम्रो टाउकोमा टेकि, ठुलो हुने कलामा पारंगत छ उ ; कहिले मन्त्री , हाकिम र समाजसेवी बनी आउने छ । (३) उस्ले तिम्रो भावनासंग, आश्वासनको खेल खेल्ने छ; कहिले सहयोगी, सहजकर्ता र बनि गुनी आउने छ । (४) तत्काल जति नै कोमल, नरम र मिजासिलो लागे पनि; उस्ले भने जस्तो नभए आगोझै , बल्दै दनदनी आउने छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, २ गते
गजल समयको चक्र न हो , सब् कुरा बदलिदो रै'छ ; माया पनि पुरानो भै, बिस्तारै खुईलिदो रै'छ। (१) जाँची हेर्दा एउटै कुरा, फरक- फरक स्थितिमा ; हिजो सही भा'को पनि, गल्तिझै माँनिदो रै'छ । (२) मुटु आफ्नै आँखा चिम्ली, कसैलाई सुम्पी दिदा ; पटक-पटक सानो-सानो, उपेक्षाले छुँदो रै'छ । (३) हिजोसम्म मुल्यवान, ठानिएका बस्तु पनि ; मुल्यहिन बनाईदा , ढुग्ङाझै मिल्किदो रै'छ । (४) समयको बेगलाई , कस्ले छेक्न सक्या छ र ? हुने त हुने नै भैगो, नहुने'नि हुँदो रै'छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, २ गते

Sunday, August 17, 2014

गजल पहिरोले पुरिएको छ बस्ती, सरकार मौन छ ; शहरमा डनहरुको गस्ती, सरकार मौन छ । (१) अपराधीहरुको मृत्युले चिरिन्छ, सभासदहरुको छाती; अनौठो छ नेताको आपसी कुश्ती, सरकार मौन छ । (२) रोग शोक र भोकले मरणासन्न छन् बासिन्दाहरु ; कसले बुझ्ने पिडितहरुको सास्ती, सरकार मौन छ । (३) माग्दै छन जवाफ जनताहरु, शासन चलाउनेहरुसंग ; किन भईन युवती, बहिनी जस्ति, सरकार मौन छ । (४) राजनितिको खोलमा छन, सबै ब्वाँसा र स्यालहरु यहाँ; छुट्याउनै मुस्किल, को कस्तो को कस्ति, सरकार मौन छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल साउन २८ गते
गजल यो मन कहिले डोटी, कहिले ईलाम भा'को छ ; हुनै सकेन बसमा, झन-झन, बेलगाम भा'को छ , (१) थाहै भएन सुटुक्क दृष्टिबाट, पसेर ह्रदयमा बस्यौ; तिम्रै कारण यो ह्रदयको बाटोनै, जाम भा'को छ । (२) अनौठो लक्षण हुदोरै'छ, यो चाहनाको रोगको हजुर ; भै रहेछ चन्चल मन, के गरुँ, कता जाम भा;को छ । (३) सुन्न त सुनिएकै हो टुना-मुनाहरुको बारेमा सधै; अब त अन्धबिश्वास;नि, पत्यामपत्याम भा'को छ । (४) कति छ तिम्रो मुल्य मेरोलागी, तिमीलाई के थाहा ; आफ्नो त के कुरा, कदम्-कदम् मा लिलाम भा'को छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल साउन २८ गते
गजल उता गाँउमा, यता मनमा, पहिरो गयो; आउदै आएन, सधै गयो, र गहिरो गयो । (१) के के न होला , सोचेथें, तिम्रो शासनमा; क्रम यथावत भो, कानो आयो बहिरो गयो । (२) किन यसरी बिग्रदै गा'का, नेता भनाउँदाहरु ; सधै भष्ट्राचारकै बाटोमा, यिन्को ओईरो गयो । (३) राहतको लागी हेलिकेप्टर नाँचेको देखे सबैले; सोझै पिडितको मुटुमा, उपेक्षाको सुइरो गयो । (४) के भएको छ यो देशमा, सबै पत्थर दिलका भए ; उपेक्षाले क्षत-बिक्षत भो ,मानवता टुहुरो भयो। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल साउन २७ गते
गजल कस्तो हुदै छ देशको निकास, जवाफ ठेकेदारको सुनौ; के भयो पर्दा पछाडी खास, जवाफ ठेकेदारको सुनौ । (१) नदीमा ढलझै मिसनमा कमिसन मिसियो कि कसो ? किन उत्तानो भो देशको बिकाश जवाफ ठेकेदारको सुनौ। (२) कस्तो चल्दै छ आजभोली ,भाषणको ब्यवसाय तिम्रो; किन छन जनता सधै उदाश ,जवाफ ठेकेदारको सुनौ । (३) कुण्डले-मण्डले, क्रेता-बिक्रेता सबै नेता बनेका छन ; सबै क्षेत्रमा किन छाएकोछ त्रास ,जवाफ ठेकेदारको सुनौ। (४) जनताको नजरमा नेताको हैसियत प्रष्टिदो छ हजुर ; ओरालो लाग्दैछ जन बिश्वास, जवाफ ठेकेदरको सुनौ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल साउन २८ गते

Sunday, March 16, 2014

गजल मझै घायल हुनेछौ, मायामा डुबेपछी ; प्रेमी रोयल हुनेछौ, मायामा डुबेपछी । (१) झुम्नेछौ नशामा, चौबिसै घण्टा प्रेमको; मझै कायल हुनेछौ, मायामा डुबेपछी । (२) अर्थहिन लाग्ने छ, बसाई राजधानीको ; स्वत: दिपायल् हुनछौ, मायामा डुबेपछी । (३) छिनो-फानो हुनेछैन, मुद्दा प्रेमको तिम्रो ; बन्द फायल हुनेछौ , मायामा डुबेपछी । (४) तस्बिर उस्को छापिनेछ, मुटु ढाकेर तिम्रो ; रंगिन टायल हुनेछौ , मायामा डुबेपछी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र २, २०७० साल

Saturday, March 15, 2014

गजल यस्तो लाग्छ जग राम्रो, बसेकै छ उठानमा ; स्वस्थ बीउ बिकाशको, खसेकै छ भुटानमा । (१) स्वच्छ पानी परिपुर्ण, खोला र झरनाहरु ; प्रकृतिको सामिप्यता, देखिदै छ भुटानमा । (२) राष्ट्रियता ह्रदयमा, राखिने भएता पनि ; नियम बन्दै सबैतिर, छाएकै छ भुटानमा। (३) जीव हत्या गरिदैन, बौद्धमार्गी भएकाले ; मांसाहारी भोजनादी, चलेकै छ भुटानमा। (४) सुर्ति सेवन निषेध छ,चलन्-चल्ति अलि अर्कै; दुमो, दारु, धुम्रपान, बढेकै छ भुटानमा । ( भुटानमा काँचो सुपारीयुक्त पानलाई दुमो भनिन्छ ।) रचना: यज्ञ प्रसाद गिरी
गजल त्यति सस्तो किन ठान्यौ, तिम्ले पा’को मेरो माया; बिना स्वार्थ दिलै देखी , उर्लि आ’को मेरो माया । (१) यति छिटै बिर्सी दियौ, मानकहरु जिन्दगीका ; प्रकृतिलाई साक्षी राखी, हिजै ला’को मेरो माया । (२) सुनै खानु, सुनै पिउनु, सुनै ओढि निदाउनु ; कहिले पनि नसम्झनु,बिर्सी गा’को मेरो माया। (३) लाग्यो होला तिमीलाई, माया एउटा खेल जस्तो; मलाई भने दुखाई भो, घाउ भा’को मेरो माया । (४) गल्ती ठुलो मेरै थियो , तिम्लाई मुटु सुम्पी दिएँ; न निल्नु न ओकल्नु भो, तातै खा’को मेरो माया । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र १, २०२७ साल
गजल समाजको हरेक तप्का, आ-आफ्नै तालमा छ ; कही कतै नभएको, गाईजात्रा नेपालमा छ । (१) नारा मात्र छन् पार्टीसंग, योजना छैनन्; यो मेरो राष्ट्र चलेकै, ख्याल-ख्यालमा छ । (२) मुखले आदर्श बोलेर, थाक्दैनौ हामीहरु ; भित्री मन भने, स्वार्थको आहालमा छ। (३) पोहरसाल पनि रह्यो,मन्सुन् र भन्सुन् खास्; अझै त्यसैको पुनरावृति, आउने सालमा छ । (४) किन अपराधीहरु बढी रहेछन, दिन-प्रतिदिन ? रहस्यमय गाँठी कुरो , राजनैतिक ढालमा छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र १ गते, २०७० साल

Thursday, March 13, 2014

गजल बैठक, छलफल र निर्णय पनि हुन्छ ; सधै राखिने यस्को,बिषय पनि हुन्छ ‘ (१) के हुन्छ निर्णयको,असर बेपत्ता सधै; बिषयको तर उदय र विलय पनि हुन्छ । (२) कस्का र केका लागि बस्छन बैठक खै? तथापि यस्को शुर र लय पनि हुन्छ । (३) न बन्यो संविधान, न काम कुनै समयमा ; बैठकको उपलब्धी भने, सयमा सय हुन्छ । (४) हरेक समस्यालाई ठोकौ, बैठककै बन्दुकले; अनि प्रतिष्ठाको एउटै बिषय, हिमालय हुन्छ। रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन २९, २०७० साल
गजल नजरलाई नजरबाटै, तिखो वार भएपछी; अत्याचार हुँदा हुँदै, अतिसार भएपछी । (१) न छ दिनमा चैन, न निद्रा छ रातमा ; प्रेमको छुराले दिल, वारपार भएपछी । (२) मझधारमा होमिएर , बेठेगान भए मत ; तिम्रो चाहना मात्रै, सिग्ङो संसार भएपछी । (३) पुतली बत्तीमा पर्छन्, अन्धो प्रेममा भन्थे; धेरै ढिलो थाहा पाएँ, जली अंगार भएपछी । (४) न त कूनै गुनासो छ, न केही गर्न सक्छु म; आफ्नै मुटु विवशतामा, तार-तार भएपछी । रचनाः यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन २९, २०७० साल

Wednesday, March 12, 2014

गजल दुर्भाग्यको झरी बर्षि, कुट्नु सम्म कुटे पछी; हराउँदै छु आफैभित्र, तिम्रो साथ छुटेपछी। (१) सपनाहरु सजाएथें,हिजो जस्को भरोसामा; दुनियाको चिनारी भो , उसैले नै लुटेपछी । (२) असारको ताल जस्तै, जिन्दगी टिल्पिल भयो; अवस्था र ब्यवस्थाको, तालमेल छुटेपछी । (३) ठिकै भन्यौ जिन्दगीमा, आशावादी हुने कुरा; बाँच्नु गाह्रो हिदो रै’छ, बिश्वासनै टुटे पछी । (४) कसरी देखिने होला, तिम्रो प्रतिबिम्ब अब ; ऐना मेरो ह्रदयको, टुक्रिएर फुटेपछी। रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन २८, २०७० साल

Tuesday, March 11, 2014

गजल तिम्रो माया ह्रदयमा, नमेटिने छाप भयो ; अतितको याद पनि, पोली राख्ने राप भयो। (१) कसैलाई माया बन्यो, रमाईलो खेल जस्तो ; कसैलाई जिन्दगीमा, त्यही अभिशाप भयो ; (२) यौवन साट्ने चलन चल्यो, खुलेआम पैसासंग; त्यही यौवन कसैलाई, जिन्दगीको श्राप भयो । (३) कसैलाई बाचाहरु, हल्का गफ गरे जस्तो ; कसैलाई तपस्विझै, निरन्तरको जाप भयो ; (४) पोको खोल्नु बेअर्थ छ, तिम्रो सामु गुनासोको; त्यही गर जे-जे गर्दा, तिम्लाई फलिफाप भयो । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ २३, २०७० साल
गजल बुझ्या’छु चाहना तिम्रो ; बुझ्या’छु बहाना तिम्रो । (१) देखावटि रिस भित्र ; सुकोमल भावना तिम्रो । (२) छेकिएन मौनताले ; नजरको निशाना तिम्रो । (३) दृष्टिको परिधीभित्र ; बिझायो रमाना तिम्रो । (४) ह्रदयको स्वर्ग बन्छ ; साथको चाहना तिम्रो । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ २३, २०७० साल
गजल पानीबाट बाहिरतिर, पारिएको माछा भएँ ; फगत स्वादकै लागी, तारिएको माछा भएँ । (१) नुन मसला पनि , मलियो मेरो शरिरमा ; अरुकै सेवामा अघि, सारिएको माछा भएँ । (२) निचोरिएको पनि छु, अर्कैको खुसीको लागी; तातो पानीमा झोल, झारिएको माछा भएँ। (३) सपनाहरु तातो तवामा, दिनहुँ डाँमिदै छन्; माछाबाट रोष्टमा , झारिएको माछा भएँ । (४) गुन्द्रुक भटमाससंग पनि, साँधिएर हजुर; रक्सीसंग जोडी बाँधी, नारिएको माछा भएँ । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ २३, २०७० साल
गजल एउटा प्रसिद्ध मन्दिर छ , मेरै घर अगाडी ; सधै आरोपित तक्दिर छ, मेरै घर अगाडी । (१) चली रहेछ पुजा-आजा, र सत्संग निरन्तर; भित्री आरोप गम्भिर छ, मरै घर अगाडी । (२) सुन्छु परमात्मा,स्वर्ग र मोक्षका कुरा सधै ; दुखी मानवता अधिर छ, मेरै घर अगाडी । (३) न्याय र सुरक्षा, फगत भाषणका बिषय बनें ; लाश जस्तो उस्को शरिर छ, मेरै घर अगाडी । (४) चौतर्फी ब्याप्त छ,बेथिति,भष्ट्राचार र डकैति; नेताको तर ठाडो शिर छ , मेरै घर अगाडी । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन २४, २०७० साल
गजल लाग्छ किन उजाडिन्छ, आज यो बहार किन ? अनायासै आजभोली, रुखो ब्यवहार किन ? (१) मेरो मन्मा तिम्रो लागि ,शुभेच्छाको हिमाल छ; मैमाथी नै तिमीबाटै, वार माथि वार किन ? (२) बिर्सिएर यति छिटै , तिम्ले सबै बाचाहरु ; लगाउन तम्सिएको,आज काँडे तार किन ? (३) मेरो साथ तिमीलाई , सुहाएन भने भन ; बिनाअर्थ आरोपको, यस्तो अतिसार किन ? (४) कसैलाई दुनियाँमा , द्रब्य ठुलै भए पनि ; अरु बाटो चुने हुन्छ, मायाको ब्यापार किन ? रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ २३, २०७० साल

Wednesday, February 12, 2014

गजल तिम्रो रुप तिम्रो यौवन, क्या बबाल छ ; त्यस्मा चपलता झन, क्या बबाल छ । (१) तिम्ले हास्दा सयौ फूल, ढकमक फुल्छन, चुम्बकिय छ चितवन, क्या बबाल छ । (२) नलोभिने को होला र? हाउ-भाउ हेर्दा ; मधुर घुनको गुन्जन, क्या बबाल छ । (३) मादक चाल हेर्दा लाग्ने, हंसिनीको जस्तो ; आनायास बढ्छ धडकन, क्या बबाल छ । (४) आँखाबाट ह्रदयमा, सुस्त छिर्ने बानी ; मृगका जस्ता नयन, क्या बबाल छ । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ २३, २०७० साल

Saturday, February 1, 2014

गजल उर्लिएको जवानीको पानी स्वच्छ खोलीमा’ आँखामा छ नशा गाढा, बड्दो जादु बोलीमा। (१) कम्मरको मर्काई र, चपलता छ चालमा ; लाग्छ अब केही हुन्छ छिट्टै आजभोलीमा। (२) छरिदै छ मादक महक, फक्रिएको फूलझै ; सृष्टीको वरदान आज पर्छ कस्को झोलीमा । (३) चन्द्र जस्तो मुहारमा, गुलाबीपन मिसिएझै ; केही कुरा लुके जस्तो, अर्थपुर्ण परेलीमा । (४) आकर्षण र समर्पणका अनेक कुरा खेलाउदै ; चड्न आतुर देखिएकी,सपनीको खटौलीमा । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १८, २०७० साल
गजल मलाई तिम्रो सामिप्यता सबै भन्दा माथी भा’छ; अतितको याद पनि जिन्दगीको साथी भा’छ । (१) तिम्रो भन्दा बढी माया गर्छु भनि म भन्दिन ; मेरो माया मानो भए, तिम्रो माया पाथी भा’छ । (२) तिम्रो प्रेम तिम्रो निष्ठा पुजातुल्य बनेको छ ; समयको कसौटीमा सधै माथि-माथि गा’छ। (३) जिन्दगानी संधर्ष हो, स्विकारेर बाच्नु पर्छ ; कैले खुला दिन जस्तो कैले कालो रात भा’छ । (४) यस्तो लाग्छ तिम्रो सृष्टी मेरै लागी गरिएको; तिमी हुनु मेरोलागी, जाति भन्दा जाती भा’छ । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १८, २०७० साल
गजल चनाखो भै चिन्नु पर्छ, बनावटी कुराहरु ; चिप्लो बोल्नेहरुलेनै, रोप्ने गर्छन छुराहरु । (१) सारै असल भए जस्ता, स्वार्थपुर्ति हुँदासम्म; नभए उनी नै झिक्ने, बाङ्गा-बाङ्गा कुराहरु । (२) बुझि सक्नु कहां छ र दलालको कुटिलता; सधै अन्यायमा पर्छन, निमुखा टुहुराहरु । (३) ठान्ने गर्छन आफैलाई,ठुलो मान्छे यो देशका; यथार्तमा यिनै भा’छन, देशका भतुवाहरु । (४) तह लगाउनै पर्छ, देशद्रोही छानी-छानी ; कम्मर कसी लाग्नु पर्छ, समाजका शुराहरु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १८, २०७० साल
गजल जस्तो आफु हुर्किएको, गाँउ प्यारो लाग्छ ; आफ्नै हुदाँ त्यस्तै तिम्रो, नाँउ प्यारो लाग्छ । (१) पुरानो छ बर्षौ-बर्ष, हाम्रो चिनाजानी ; हामी बिच मित्रताको, साँउ प्यारो लाग्छ । (२) हरेक पल हरेक क्षण, हरेक परिस्थिति ; तिमिसंग बिताएको ठाँउ प्यारो लाग्छ । (३) तिमी मात्रै ब्याप्त लाग्ने, मनभित्र मेरो; तिम्रोलागी बल्झिएको, घाउ प्यारो लाग्छ । (४) खोतलेर मन मेरो, बुझी जिस्किएर ; जानी-जानी बढाएको, भाउ प्यारो लाग्छ। रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १८, २०७० साल

Tuesday, January 28, 2014

गजल बुझ्नै गाह्रो भयो गाँठे, फोटो किन हराउँछ ; फोटो हराउँने ब्यक्ति, उफ्री-उफ्री कराउँछ । (१) कि भएको लुकाउँछ, नभएको देखाउँछ ; कि त आफू आफैदेखि भित्र-भित्रै डराउँछ। (२) सद्दे कान छँदा-छदै,कुद्नु कौवा पछि किन; मान्छे किन गुदी भन्दा, बोक्रा मन पराउँछ? (३) बुझ्नु पर्ने आफैलाई, तथा आफ्नै परिस्थिति; आँङ आफ्नै कन्याएर, धुलो किन उडाँउछ ? (४) हेपी आफ्नै संस्कृति, भुली मुल्य र मान्यता; हामीलाई यो सोचले ,कुन स्वर्गमा पुर्याउँछ ? रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १५, २०७० साल

Sunday, January 26, 2014

गजल यो मन पनि अनौठो छ, भित्र-भित्रै रुदो रै’छ ; सम्झनामा बाँच्नु पनि, एउटा नशा हुदो रै’छ । (१) आफ्ना भन्नेहरुलेनै, पराईझै गरी बोल्दा ; बचनले’नि वाण बनि, मुटु भित्र छुदो रै’छ । (२) कुनै बेला सामिप्यको, मृगतृष्णा बोक्नेहरु ; टाढिएर जान लाग्दा, ह्रदय एक्लिदो रै’छ । (३) बन डडेको सबै देख्छन, मन डडेको देखिदैन; प्रेमको बिचित्र आगो, मनभित्र सल्किदो रै’छ। (४) किन सोध्छौ नबुझेझै,मेरो मनको हाल तिमी; मनको घाउ भित्र-भत्रै, जलेर बल्झिदो रै’छ। रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १२, २०७०साल

Saturday, January 25, 2014

गजल कुनै बेला तिमीबाटै सलामीमा पनि परें; आज फेरी तिमीबाटै लिलामीमा पनि परें। (१) गल्ति मेरै नजिक भएँ, चरम स्वार्थीहरुसंग ; धोका खाएँ समयको सुनामीमा पनि परें । (२) बाँचिएछ तरबारको धारमाथी हिडे सरी; स्वाभिमान जोगाउँन हैरानीमा पनि परें। (३) कसैको त स्वभाव’नि छेपारोको रंग जस्तो ; कुनै बेला निलम्बन र बहालीमा पनि परें। (४) चंगा जस्तै चुडिएर समयको बहावले ; आफ्नै मुल्य मान्यताको मलामी पनि परें। रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ ११, २०७० साल