गजल-७
तिमी थियौं, लाग्दथ्यो, वरदान हो जिन्दगी,
तिमी गयौं, म छुटें, सुनसान भो जिन्दगी ।
(१)
सरिताको संगीत र हरायो फूलको सुवास पनि,
रापिलो उराठ लाग्दो रेगिस्तान भो जिन्दगी ।
(२)
उत्साहको सूर्य पनि, उदाएन कहिल्यै पनि ;
कुहिरोले निस्सासिएको, बिहान भो जिन्दगी ।
(३)
भावी योजनाहरु बिलाए, बिहानीको शितजस्तै ;
खोला किनारको एक्लो, चिहान भो जिन्दगी ।
(४)
उदाउंछ सधैं सूर्य, अस्ताउंछ तिम्रै नाममा,
जिउनु र निरासाको, तानातान भो जिन्दगी ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment