Pages

Monday, July 22, 2013

गजल १०६
अरुलाई गाली किन, आफै गरे भै हाल्यो नी;
अन्धकार हटाउँन, ज्योति छरे भै हाल्यो नी ।
(१)
हात बाँधी देशलाई, कस्को भरमा छोडी दिने ;
ईमान्दार बनी साँचो, यत्न गरे भै हाल्यो नी ।
(२)
थोपा-थोपा जोड्दै लाँदा, महासागर बने जस्तै;
हाते मालो गर्दै हामी, लागी परे भैहाल्यो नी ।
(३)
आफ्नो स्वार्थ बिर्सिएर,शिरमा राखी राष्ट्रलाई;
जनताको हित खातिर्, अघि सरे भै हाल्यो नी।
(४)
नाना थरी नाराहरु, फलाक्दैमा के हुन्छ र ?
आयी पर्दा राष्ट्रमाथी, बिघ्न टरे भै हल्यो नी ।
(५)
 सधै भरी राष्ट्र मेरो  सम्पन्न र  सुखी रहोस् ;
भनी मनले भित्रैदेखी , बाचा गरे भै हाल्यो नी ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
गजल १०४
कति भन्छन खोज्दै छौ सहमति, दिक्क लाग्छ ;
कहिले आउने यिनको सद् मति, दिक्क लाग्छ।
(१)
कोही ओर्ले महलबाट  कोही पसे, जंगलबाट शहर ;
कसरी  बिग्रन पुगेछ  सबैको मति,दिक्क लाग्छ ।
(२)
सबै चोर, फटाहा, डाँकाहरु नेता बनी, हिडेका छन ;
सकृय  छन गर्न  यो राष्ट्रको दुर्गति, दिक्क लाग्छ ।
(३)
नारा राष्ट्रियताको ,  ईशारा छिमेकीको शिरोपर ;
कानै चिरेका जोगीहरु आए जति,  दिक्क लाग्छ ।
(४)
कुर्सी बाहेक केही देख्दैनन् , काँना आँखाहरुले।
छि-छि कस्तो घृणित यिन्को गति, दिक्क लाग्छ ।
(५)
लाग्छ बाँदरका खाँटी  शन्तान हुन,  यी जंगलीहरु ;
भत्काउनै उद्धत छन नेताहरु जति, दिक्क लाग्छ ।


रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

गजल १०३
चाँदी जस्तो पानीभा’को , छहराको देश मेरो;
हिऊले नै लिपिएको , पहराको देश मेरो ।
(१)
हरियाली फाँटहरु , खाद्धान्नका भकारी हुन;
संजिवनी गुणभा’को, लहराको देश मेरो ।
(२)
चन्चल हवा बग्ने गर्छ, छर्दै सुवास फूलको;
सुवासले सुगन्धित छ, यो धराको देश मेरो ।
(३)
अनेकौ फूलको माला, जस्तै हाम्रो समाज छ ;
प्रकृतिको  सुवासले, मग्मगाको देश मेरो ।
(४)
सुनै सुन्को बनी दिन्छ, प्रभातमा हिमालय ;
मैले जस्तै बिश्वले नै मन परा’को  देश मेरो।
(५)
देव भुमी, तपो भुमी जहाँ बास प्रकृतिको ;
सौन्दर्यले  परिपुर्ण, अप्सराको देश मेरो ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर


गजल १०२
नशा आज हिजो भन्दा थपिदै छ अलि-अलि ;
ऊँचाई यो चाहनाको चुँलिदै छ अलि-अलि ।
(१)
सधै शान्त हुन्थ्यो लहर,  ह्रदयको तलाउको ;
छछल्किदै सुस्त-सुस्त पोखिदै छ अलि-अलि ।
(२)
कहाँ टेक्यौ थाहा छैन, पहिलो कदम् जवानीको;
बाहिरी रुपमा हलचल्, प्रष्टिदै छ अलि-अलि ।
(३)
देखावटी दूरीभित्र,  झुकाउको उपस्थिति ;
अप्रत्यक्ष बाटोबाट, मिसिदै छ अलि-अलि ।
(४)
हाउ-भाउ बोली-चाली, हिजो भन्दा केही बेग्लै; 
समष्टिमा तिम्रो बानी, फेरिदै छ अलि-अलि।
(५)
नशामा लम्कनु पर्दा, गन्तब्यको दिशातिर ;
जरुरी सावधानीको, देखिदै छ अलि-अलि ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
गजल ७०

तिम्लाई म त सानैदेखि , आफ्नै जस्तो देख्ने मान्छे;
कहिले काँहि जिस्किएर , बाटो पनि छेक्ने मान्छे ।
(१)
नचिनेझै तर्कि-तर्कि , हिड्न खोज्ने किन होला ?
म त तिम्लाई कबितामा मिसाएर लेख्ने मान्छे ।
(२)
कहिले काँही देखाउछ्यौ , बनावटी रिस पनि ;
तिम्रो मन्को गोप्यता’नि, बुझि दिन सक्ने मान्छे ।
(३)
साच्चै भन शिरमाथि , हात राखी नढाँटेर ;
कतै खोजी गर्दै छ्यौ कि ,आफैलाई छेक्ने मान्छे ।
(४)
यथार्तता बिर्सिएर , आदर्शमा बाँच्न खोज्दा ;
देखेको छु, आफ्नै जीवन,माटो सरी बेच्ने मान्छे ।
(५)
धोका होला मनको कुरा, लुकाएर बाँच्न खोज्दा ;
भनिन्छ नी आखिरमा काम लाग्छ आफ्नै मान्छे ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

गजल १००
स्तो लाग्छ हाम्ले पनि एउटा पार्टी खोल्नै पर्‌यो ;
अन्यायको  बिरोध गर्दै , कस्सीएर बोल्नै पर्‌यो ।
(१)
ब्यबिचारी भष्ट्राचारी , ब्याप्त भए सबैतिर ;
निर्धक्क भै सबैसामु, यिनको पोल खोल्नै पर्‌यो ।
(२)
ब्यस्त भा'छन धन बटुल्न भष्ट्र नेता कार्यकर्ता;
चौबाटोमा उभ्याएर , कालो मोसो दल्नै पर्‌यो ।
(३)
जनतालाई झुक्क्याएर लियौ मत लुटेरा हो ;
यस्तालाई सच्याउन ,ज्वाला बनी ल्नै पर्‌यो ।
(४)
दुध खायौ, पोस पायौ, ऐले जात देखाउछौ ;
घैटो तिम्रो बिषादीको,आजै ऐलै फोर्नै पर्‌यो ।
(५)
सद् भाव समाजको , बिथोल्दै छौ जानि- जानी ;
तिम्रो जरा कहाँ रै'छ, जान्न जरा गोड्नै पर्‌यो
रचना: यज्ञ प्रसाद गिरी


गजल ९९
आफनो ठाँउ बिर्सनेलाई के भन्नु खोई !
आफनो गाँउ बिर्सनेलाई के भन्नु खोई !
(१)
हाउ-भाउ चाल-चलन बिदेशीको ;
आफनो नाँउ बिर्सनेलाई के भन्नु खोई !
(२)
उडेका छन हावा बनी आकाशमा ;
आफनो पाऊ बिर्सनेलाई के भन्नु खोई !
(३)
नाता पनि अंकल अन्टी मम्मी ड्याडी;
आफनो बाऊ बिर्सनेलाई के भन्नु खोई !
(४)
हाम्रा पुर्खा चर्चित बनें संसारभरी ;
आफ्नै भाऊ बिर्सनेलाई के भन्नु खोई !
(५)
ब्याजको पछी मरिहत्त गर्ने गर्छन ;
सिग्ङो साऊँ बिर्सनेलाई के भन्नु खोई !

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर