Pages

Sunday, October 20, 2019

थियौ घनिस्ट मित्र, याद आयौ ;
रहेछौ मनभित्र , याद आयौ ।
(1)
सरल थियौ , उदार पनि थियौ ;
त्यसमा पनि पवित्र , याद आयौ ।
(2)
नजिक दिलको थियौ, बिरानो भयौ ;
देखायौ हरकत विचित्र , याद आयौ ।
(3)
आफै पस्यौ दिलमा र आफै हरायौ ;
बिझी रह्यौ भित्र भित्र , याद आयौ ।
(4)
माने आदर्श प्रेमको प्रतीक सधैं ;
देखियो बेग्लै चरित्र, याद आयौ ।

रचना: यज्ञ प्रसाद गिरी
कार्तिक 2 गते , 2076 साल
कोहलपुर , बाके




अचानकै आयौ तिमी, मुटुभित्र गड्यौ प्रिय ;
लौ भन त हासि हासि कस्तो जादु गर्यौ प्रिय ?
(1)
पहिलेदेखि चिने जस्तो,लाग्न थाल्यो भेटेपछि ;
पहिलैं पटक देखेँदेखी औधि मन पर्यौ प्रिय ।
(2)
अचानकै भेट भयो, निमेसमै घनिश्टता ;
आँखाबाट पस्यौ तिमी , मुटुभित्र झर्यौ प्रिय ।
(3)
शीतल भयो मन मेरो, बोली तिम्रो सुनेपछि ;
आनन्दमा डुबाउने , कस्तो बोली बोल्यौ प्रिय ।
(4)
परिवर्तन जिन्दगीमा, भयो तिम्रो आगमनले ;
जिन्दगीमा स्नेहको मिठो गोली, घोल्यौ प्रिय ।

रचना : यज्ञ प्रसाद गिरी
असोज 29 गते , 2076 साल
कोहलपुर , बाके




झरना भनौ की झरनाको, पानी भनौ ;
आँखा भनौ की आँखाको, नानी भनौ ।
(1)
मेरी आँखाबाट मादक तुफान बनी पस्यौ ;
सुन्दरता भनौ की तिम्रो जवानी भनौ ।
(2)
कस्तो सम्बोधन सुहाउला सोच्दै छु प्रिय ;
मायालु भनौ की मेरी प्यारी सानी भनौ ।
(3)
निर्मल मन सुन्दर तन विवेककी धनी ;
मन्दिरकी देवी या ह्र्दयकी रानी भनौ ।
(4)
तिमीबाट कब्जा गरिएको छ मेरो मुटु ;
संयोगले भो भनौ की , जानी जानी भनौ ।


रचना : यज्ञ प्रसाद गिरी
असोज 30 गते, 2076 साल
कोहलपुर , बाके
बिरामी हामी परेका छौ ,आफैबाट ;
सधैं दुख्ने गरेका छौ , आफै बाट ।
(1)
घमण्ड र स्वाभिमान एउटै ठानी ;
ह्र्दयबाट लडेका छौ, आफैबाट ।
(2)
झुठो अभिमानमा घायल बन्दै ;
जिन्दगीमा झरेका छौ आफैबाट ।
(3)
अनाहक चिन्ताले , पिरोलिएका छौ;
पल प्रतिपल गलेका छौ आफैबाट ।
(4)
जानि जानि गुमाउछौ अवसरहरु ;
मल्नु हात मलेका छौ, आफैबाट ।

रचना: यज्ञ प्रसाद गिरी
बिरेन्द्र नगर -1, सुर्खेत
आश्विन 22 गते , 2076 साल













यसरी भयो तिम्रो प्रवेश,जिन्दगिमा ;
बदलिदै गयो परिवेश , जिन्दगीमा।
(1)
मन भरी नै तिमी छौ, अब त प्रिय ;
कसरी बन्यौ विशेस, जीन्दगीमा ।
(2)
तिमी बसन्त बन्यौ, मनको उपवनमा ;
बाकी रहेन अब कुनै क्लेश, जिन्दगीमा ।
(3)
तिमी खुसियाली बनेर आयौ , प्रफुल्ल छु म ;
दियौ जिजिविशाको सन्देश, जिन्दगीमा ।
(4)
पुष्टि गर्यौ तिमीले मेरो बाच्नु को औचित्य ;
तिमी बन्यौ हरिद्वार र हृशिकेश , जिन्दगीमा ।

यज्ञ प्रसाद गिरी
आश्विन 10 गते 2076 साल
आनन्दबस्ती , ललितपुर

Thursday, October 10, 2019

अचानक मध्यान्हमै रात भयो ;
निर्दोष मन मेरो आहात भयो ।
(1)
चिन्न सकिन, प्राथमिकता उसको ;
साथ दिन्छु भन्नेबाटै घात भयो ।
(2)
सफर रहेछ , हाम्रो दोबाटो सम्म ;
बाचा मात्र पिपलको पात भयो ।
(3)
सफर एउटै तर , लछ्य बेग्ला-बेग्लै ;
धुलोयुक्त बाटोमै बरसात भयो ।
(4)
बदली सकेछ समयको समीकरण ;
चारमा चार जोड्दा,नि सात भयो ।

रचना: यज्ञ प्रसाद गिरी
आश्विन 11 गते, 2076 साल
आनन्दवस्ती , ललितपुर




Monday, September 23, 2019

रात , साँझ, दिन र बिहान दुख्यो ;
उसको उपेक्षाले स्वाभिमान दुख्यो ।
(1)
नखेल्नु सम्बेदनशिल दिलमा हजुर ;
अतीत भक्कानियो, वर्तमान दुख्यो ।
(2)
गुनासो कसैसङ पनि कुनै छैन मेरो ;
तैपनि आज दिलको उडान दुख्यो ।
(3)
यात्रा मन्जुर छ ,गन्तव्यहिन नै सही ;
तर लामो यात्राको सुनसान दुख्यो ।
(4)
मेरो खुसिको स्वर्ग थियो हिजोसम्म;
आज तिमीले दिएको बरदान दुख्यो ।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
असोज 8 गते, 2076 साल