Tuesday, September 29, 2015
गजल
छिमेकीको अति निकृष्ट अभिमान , नाकाबन्दी ;
माछाको दाउमा बकुलाको ध्यान, नाकाबन्दी ।
(१)
कथनी र करनीको हास्यास्पद, दृष्टान्त बन्यो ;
तथाकथित ऋषिमनको बिष बमन, नाकाबन्दी ।
(२)
हिजो पनि चिनेकै हो, किन बदलिन्थे रातारात ;
बिस्तारबादको अन्यायी अग्रगमन, नाकाबन्दी ।
(३)
बैईमानीलाई चलाखी मान्ने, समाजका उनीहरु;
भन्दैछन गरेका छैनौ जानाजान, नाकाबन्दी ।
(४)
सकिदैन आफ्नो बनाउन सर्पलाई, दुध पिलाएर;
बन्दै छ देशद्रोहीहरुको पहिचान , नाकाबन्दी ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
भदौ १३, २०७२ साल
Wednesday, September 23, 2015
गजल
ढोका छाडी झ्याँलबाट चिहाउने , कस्ता छिमेकी तिमी ?
अरुको सम्पदामा र्याल चुहाउने, कस्ता छिमेकी तिमी ?
(१)
कपडा त कपडा नै हो, कमर बेरे’नि, शिर ढाके’नि ;
फोहरीको लगौटीझै गन्हाउने , कस्ता छिमेकी तिमी ?
(२)
धर्म संस्कृति र छोरी-बेटीको सम्बन्धको’नि कुरा गर्ने;
अप्ठ्यारोमा पारी , धाँटी समाउने , कस्ता छिमेकी तिमी ?
(३)
छिमेकीहरुले बुझेका हुन्छन, आपसी कुरा एक-अर्काका;
जाना-जान आफैलाई नंग्याँउने, कस्ता छिमेकी तिमी ?
(४)
कहिले अंगालोमा बेर्न खोज्ने, आफ्नो स्वार्थ पुरा हुँदा ;
अन्यथा ब्वाँसोझै धम्काउने , कस्ता छिमेकी तिमी ?
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
भदौ ७, २०७२ साल
Monday, September 14, 2015
गजल
लसुनको भाउमा सुन, बिर्सी दिऊ हजुर !
गुनको बदला बैगुन , बिर्सी दिऊ हजुर !
(१)
मात्र सिढी बन्यौ हामी, नेताका लागी;
हामीले ख्वाएको नुन, बिर्सी दिउ हजुर !
(२)
हरियाली छाउनु पर्छ, आगामी दिनहरुमा।
गएको कमजोर मनसुन, बिर्सी दिउ हजुर !
(३)
लड्नु त उचित छ , न्याय पाउनुको लागी ;
स्वार्थको लागी बग्ने खुन, बिर्सी दिउ हजुर !
(४)
लडौ नैतिकताको युद्ध, हामी सबै मिलेर ;
हातमै नअटाउने जुन , बिर्सी दिउ हजुर !
रचना: यज्ञ प्रसाद गिरी
महालक्षी नगर पालिका-१५
आनन्दबस्ती ललितपुर
भदौ २९ गते, २०७२ साल
Saturday, September 5, 2015
गजल
एकातिर देवता , पुजा र मन्दिर छ;
अर्कोतिर पहिल्यै तोकेको तक्दिर छ ।
(१)
एकातिर आशाबादी सोच र गन्तब्य ;
वर्तमान अनकन्टार तारे भिर छ ।
(२)
भनिन्छ बिजय त सत्त्यको नै हुन्छ ;
अर्कोतिर भष्ट्राचारीकै ठाडो शिर छ ।
(३)
सैकडौ नेता छन् , गणनामा यो देशमा ;
स्थिति भने देशको , सारै गम्भिर छ ।
(४)
भोली पलाउलान , लिलामणी र गोबिन्दहरु;
आज अशक्त जोर्नीहरु र, कुहिएको शिर छ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
भदौ, २१, २०७२ साल
Friday, August 28, 2015
गजल
नसोध तिमी को ? चिनेर के गर्छौ ?
को नाङ्गो को भोको , जानेर के गर्छौ ।
(१)
खुनी भो राजनिति , अगुवा निकम्मा ;
सिध्दान्त स्वतन्त्र , मानेर के गर्छौ ।
(२)
कुनै काम हुन्न , नचढाई भेटी;
सुशासन-शुसासन, भनेर के गर्छौ ।
(३)
विश्वमा चिनिन्छौ, दरिद्री भनेर ;
बिटा नोटका ब्यर्थ, गनेर के गर्छौ ।
(४)
के सांसद, के मन्त्री, के मुख्यमन्त्री ;
हुने यै छ चाला , बनेर के गर्छौ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , महालक्ष्मी नगरपालिका - १५
ललितपुर
भदौ १२ गते , २०७२ साल
Thursday, August 27, 2015
गजल
सोझा -साझालाई झुक्याउनु झुक्याए, देशद्रोहीले ;
चिताको आगोमा आफ्नो रोटी, सेकाए, देशद्रोहीले ।
(१)
लाल पुर्जा हात्मा, जमिन भारत्मा हुदाँ कहाँ थिए यी;
छापरोले झै राता-रात रंग फेरी आए , देशद्रोहीले ।
(२)
भयावह बन्दै छ , यो देशमा रगतको राजनिति हजुर;
आपसी मारकाट गराएर के पाए , देशद्रोहीले ।
(३)
साख्कै कसरी हुन सक्छन गरीबका , यी शोषकहरु;
क्षेत्रियता र जातियताको बिष फैलाए, देशद्रोहीले ।
(४)
नरसंहारलाई पुरुसार्थ मान्ने ,राक्षसी प्रवृति अगाल्दै;
फेरी टाउको उठाउने अवसर पाए , देशद्रोहीले ।
(५)
चिन्नुस, राम्ररी चिन्नुस, को हुन घातक यो देशका ;
रक्तपिपाषु सक्कली स्वभाव देखाए, देशद्रोहीले ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबसती ,ललितपुर
भदौ ११ गते, २०१७२ साल
Saturday, August 22, 2015
गजल
कसैलाई खुसी लाग्यो ,पोख्नु परे फेसबुक ;
आँखाबाट आँसु झरे, रोक्नु परे फेसबुक ;
(१)
जिउनु नै संधर्ष हो, चली राख्ने निरन्तर;
जिन्दगीमा दह्रो पाईला, टेक्नु परे फेसबुक ।
(२)
कसैलाई सता’को छ, प्रियसीको चाहनाले ;
सबैलाई मनको कुरा, लेख्नु परे फेसबुक ।
(३)
गुनासो छ कसैलाई, आफ्नै जिवनसंग पनि;
सबै बिर्सी भट्टी पसी, धोक्नु परे फेसबुक ।
रचना: यज्ञ प्रसाद गिरी
Subscribe to:
Posts (Atom)